Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

२५ जातका कोदोले यस वर्ष उत्पादनमा वृद्धि, किसान उत्साहित

२५ जातका कोदोले यस वर्ष उत्पादनमा वृद्धि, किसान उत्साहित

लमजुङ : धानखेती सकिसकेका लमजुङका किसानहरू अहिले कोदो थन्काउने काममा व्यस्त छन्। मङ्सिरको पहिलो सातादेखीदेखि किसानहरूले कोदो टिप्न सुरु गरेका छन्। साउनमै रोपिएको कोदो अहिले पाकेर टिप्न तयार भएको स्थानीय किसानहरूले बताएका छन्। भदौमा रोपिएको कोदो भने मङ्सिरको अन्तिमसम्म टिप्न उपयुक्त हुने किसानहरूको अनुभव छ।

मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी भलामचौरका किसान रत्नबहादुर गुरुङका अनुसार भलामचौर, सिम्पानी, मिर्चे लगायतका क्षेत्रमा किसानहरू कोदो थन्काउन व्यस्त छन्। जिल्लाको आठवटै पालिकाका ग्रामीण क्षेत्रहरूमा कोदो खेती व्यापक रूपमा हुँदै आएको छ।

बेसीशहर नगरपालिकाकी देउकाशी गुरुङले बताइन्, “यस वर्ष रोगकिरा लागेन, मौसम पनि अनुकूल रह्यो। यसकारण उत्पादन राम्रो हुने अपेक्षा छ।”

मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा रैथाने बाली प्रवर्द्धनका लागि २५ जातका कोदो लगाइएको थियो। नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा परीक्षणका लागि रोपिएको यी जातका कोदोले राम्रो उत्पादन दिएको छ। खाद्य तथा कृषि सङ्गठनको आर्थिक सहयोगमा, नेपाल कृषि अनुसन्धान परिषदको राष्ट्रिय अनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मार्फत सञ्चालन गरिएको रैथाने कृषि परियोजनाअन्तर्गत मध्य नेपालको पराजुलीबेसी मगर गाउँमा २२ प्रकारका र आमडाँडामा २५ जातका कोदो रोपिएको वडाअध्यक्ष ओमविर गुरुङले जानकारी दिनुभयो।

कृषि ज्ञान केन्द्रको प्रक्षेपणअनुसार यस वर्ष कोदोको उत्पादन २५ प्रतिशतभन्दा बढी बढ्ने अपेक्षा गरिएको छ। अघिल्ला वर्षहरूमा फौजी किराको आक्रमण र प्रतिकुल मौसमका कारण उत्पादन कम भएको थियो। लमजुङको ग्रामीण भेगमा कोदो प्रमुख बालीको रूपमा रोपिँदै आएको छ। कुल ७,९१५ हेक्टर क्षेत्रफलमा गरिएको कोदो खेतीबाट गतवर्ष २० हजार टन उत्पादन भएको थियो।

पौष्टिक कोदो, तर जाँडमा बढी प्रयोग

उत्पादन बढेपनि हाल उत्पादित कोदो घरेलु मदिरा बनाउन बढी प्रयोग भइरहेको छ। अन्य खाद्यान्नको तुलनामा कोदोमा अधिक पौष्टिक तत्व पाइन्छ, तर पर्याप्त ज्ञान नहुँदा सर्वसाधारणमा ढिँडो वा पिठोका रूपमा कम प्रयोग भइरहेको छ।

पहिले गरिब वर्गले मात्र प्रयोग गर्ने मानिएको कोदो अहिले धनाढ्य वर्गले पनि शोखका लागि खाने गरेका छन्। मधुमेहलगायतका बिरामीहरूका लागि कोदोको परिकार उपयोगी रहेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। तर जाँड बनाउन बढी प्रयोग हुँदा ढिँडो खानेहरूले पिठो पाउन गाह्रो भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, खनिज, मिनरल र क्याल्सियम पर्याप्त मात्रामा पाइन्छ। यसै कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शिशुहरूको लिटोमा कोदोको पिठो प्रयोग गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट