चितवन : भरतपुर–३ न्युरोड नारायणगढमा स्पाइनल इन्जुरी रियाबिलिटेसन सेन्टर, चितवन युनिट (Spinal Injury Rehabilitation Center, Chitwan Unit) औपचारिक रूपमा सेवा शुभारम्भ भएको छ। सहज पहुँच र सहुलियत दरमा स्पाइनल कर्ड इन्जुरी तथा न्युरोलोजिकल समस्याबाट प्रभावित व्यक्तिहरूलाई पुनर्स्थापना सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापित यो केन्द्र मध्य–नेपालमा पुनर्स्थापना स्वास्थ्य सेवाको अभाव पूर्ति गर्ने महत्वपूर्ण प्रगतिका रूपमा हेरिएको छ।
विगत २४ वर्षदेखि साँगामा कार्यरत स्पाइनल इन्जुरी रियाबिलिटेसन सेन्टर (SIRC) को दीर्घ अनुभव, प्रविधि, विशेषज्ञता र मानव–स्रोतका आधारमा विस्तार गरिएको यो चितवन युनिट SIRC द्वारा स्थापना गरिएको दोस्रो प्रमुख पुनर्स्थापना केन्द्र हो।
पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा अवस्थित चितवनमा सेवा विस्तार हुँदा देशको मध्यभाग र तराई तथा पहाडी क्षेत्रका धेरै बिरामीले लामो दूरीको कठिन र खर्चिलो यात्रा गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
यहि विश्वासका साथ, केन्द्रले स्पाइनल इन्जुरी हेरचाह, दीर्घकालीन पुनर्स्थापना, सामाजिक–आर्थिक पुनएकीकरण तथा समुदायमा आधारित समग्र सेवा मोडेलमार्फत बिरामीलाई आत्मविश्वास, सम्मान र स्वतन्त्र जीवनयापनतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ।
यो केन्द्र दिवंगत उदय कुमार पिया तथा श्रीमती चमेली देवी पियाको आर्थिक–भौतिक सहयोग, चितवन रोटरी क्लबको व्यवस्थापन तथा स्पाइनल इन्जुरी संघ नेपालको प्राविधिक नेतृत्वमा स्थापना भएको हो।
SIRC साँगाको प्राविधिक ज्ञान र प्रशिक्षणमा आधारित यो सामुदायिक पहल सुरुदेखिनै उच्चस्तरीय, किफायती र प्रभावकारी सेवा प्रदान गर्न केन्द्रित रहेको छ। केन्द्रले प्रत्येक बिरामीको अवस्था र आवश्यकताअनुसार एकीकृत पुनर्स्थापना कार्यक्रम– शारीरिक उपचार, सामाजिक र मनोवैज्ञानिक साथ, व्यावसायिक सीप विकास र आत्मनिर्भरता अभिवृद्धि–मार्फत दीर्घकालीन सुधारको दिशा तय गर्नेछ।
साथै, स्पाइनल इन्जुरीसम्बन्धी सार्वजनिक चेतना, अपाङ्गता भएका व्यक्तिको अधिकार र उनीहरूको पूर्ण सामाजिक समावेशिताका लागि वकालत पनि केन्द्रका प्रमुख कार्यसूचीहरूमा पर्नेछ।
यस अवसरमा स्पाइनल इन्जुरी रियाबिलिटेसन सेन्टर, चितवन शाखाका अध्यक्ष रो. रविन्द्र पियाले चितवनमा केन्द्र स्थापना हुनु पुनर्स्थापना सेवाको क्षेत्रमा देशका लागि ठूलो उपलब्धि भएको बताउँदै SIRC साँगाको विशिष्टता, पिया परिवारको उदार सहयोग तथा चितवन रोटरी क्लबको प्रतिबद्धताले चितवनमा विश्वस्तरीय सेवा उपलब्ध हुनेछ भन्ने विश्वास व्यक्त गरे।
स्पाइनल कर्ड इन्जुरी भएका सेवाग्राही समिर कुमार ठकुरीले चितवनजस्तो महत्वपूर्ण स्थानमा पुनर्स्थापना केन्द्र खुल्नुले दुर्घटनापछि उपचार खोज्नुपर्ने बिरामीहरूलाई समय, खर्च र दूरीका दृष्टिकोणले ठूलो राहत मिल्ने बताए। केन्द्रले मंसिर १९ गतेदेखि नियमित सेवा सुरु गर्ने तयारी पूरा गरिसकेको छ।
सेवा प्रभावकारी र दीर्घकालीन बनाउन सरकारी निकाय, भरतपुर महानगरपालिका, स्वास्थ्य संस्था, सेवामूलक तथा गैर–सरकारी संगठन, निजी तथा सरकारी अस्पतालहरू लगायत सबै क्षेत्रको सहकार्य आवश्यक रहेको केन्द्रले जनाएको छ। शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सबल, सक्षम र आत्मनिर्भर नागरिक बनाउने ध्येयसहित अगाडि बढेको यस केन्द्रले सबैको सहयोग र सद्भावको अपेक्षा गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij