चितवन : काठमाडौंको हायात होटलको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रिएसन सेन्टर’ क्यासिनोमा भदौ २४ गते भएको लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी चोरी–डाँका र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरेको छ। पक्राउ परेकाहरूमा काठमाडौं बौद्धका ४२ वर्षीय दावा शेर्पा र बुढानीलकण्ठका २९ वर्षीय रन्जित खड्गी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष टोलीमार्फत उनीहरुलाई शुक्रबार राति पक्राउ गरी सात दिनको अनुसन्धान अनुमति पाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू क्यासिनो तोडफोडमा सक्रिय थिए। क्यासिनो सञ्चालकले आपराधिक समूहले १४ करोड रुपैयाँ लुटेको र करिब ४० करोड रुपैयाँ बराबरको क्षति पुगेको बताए।
सीसीटीभी फुटेजको आधारमा शेर्पा दोस्रो समूहको नेता र खड्गी सुरुवातदेखि नै क्यासिनो प्रवेशमा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। दुबै पक्राउ परेकाले अवैध रूपमा क्यासिनो प्रवेश गर्ने र जुवा खेल्ने गरेको खुल्न आएको छ।
खड्गीविरुद्ध विगतमा पनि जुवा, बैंकिङ कसुर र सार्वजनिक अपराधसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। शेर्पाको पनि विगतको आपराधिक पृष्ठभूमि अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार लुटपाटमा संलग्न अधिकांश व्यक्ति काभ्रेका रहेका छन् र उनीहरूको आपराधिक पृष्ठभूमि पहिल्यै देखिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij