चितवन : भरतपुर महानगरमा सञ्चालन भइरहेको भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत पूरा भएको छ। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाले आगामी माघभित्र काम समापन गर्ने लक्ष्यसहित काम तीव्र रूपमा अघि बढाएको जनाएको छ।
आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार भूमिगत विद्युतीकरण सम्पन्न भएका क्षेत्रमा परीक्षण प्रसारणका रूपमा विद्युत् प्रवाह सुरु गरिएको छ। हालसम्म ४० प्रतिशत क्षेत्रमा भूमिगत लाइनमार्फत सेवा उपलब्ध भएको उनले जानकारी दिए।
‘केबल बिछ्याउने, ट्रमिनेसन जडान, घरघरमा सर्भिस केबल जडान, ट्रान्सफर्मर पोस्ट निर्माण लगायतका काम हुँदैछ,’ सुवेदीले बताए। उनका अनुसार तीन महिनासम्म भूमिगतबाट सेवा चलाएर परीक्षणपछि मात्रै सडक माथिका पोलका तार हटाइने छ। गर्मी याममा क्षमताको परीक्षण गरेर हटाइने उल्लेख गर्दै, तार भए पनि त्यतिबेला प्रसारण भने नहुने जानकारी दिए।
शुरूमा केन्द्रीय बसपार्क–गोन्द्राङ सडकमा ३३ केभीए लाइन मात्र भूमिगत गर्ने योजना रहे पनि अहिले ११ केभीए र ४०० भोल्ट लाइन पनि भूमिगत गर्न सुरु गरिएको छ। पछिल्लो सम्झौताअनुसार चनौली लाइन विस्तार लक्ष्यसहित मुख्य सहरी क्षेत्रमा काम भइरहेको छ।
यस परियोजनामा एक अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने छ। शुरुवातमा १ अर्ब ३० करोड विनियोजन गरिएको थियो भने काम थपिएसँगै १० करोड बजेट बढाइएको हो। निर्माण भारतको टाटा प्रोजेक्ट लिमिटेडले ठेक्का पाएको हो।
सन् 2021 अक्टोबरदेखि सुरु भएको परियोजनाको म्याद पटक–पटक थप्दै सन् 2026 जुलाईसम्म लम्ब्याइएको छ। परियोजना एसियाली विकास बैंक (ADB) को सहयोगमा अघि बढाइएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij