कोलम्बो : श्रीलङ्कामा आएको भारी वर्षा र पहिरोका कारण कम्तिमा ३१ जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता रहेको विपद व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ। बाढी र पहिरोका कारण हजारौं मानिस विस्थापित भएका छन्।
डिएमसीका पछिल्लो विवरणअनुसार, चरम मौसमी प्रकोपले १७ जिल्लामा असर पारेको छ र १,१५८ परिवारका करिब ४,००० व्यक्ति प्रभावित भएका छन्। यस क्रममा १० जना घाइते भएका छन्, ३ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् र ३८१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको बताइएको छ। कम्तिमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ।
जिल्लागत विवरण अनुसार, बदुल्लामा १८, केगालेमा ७, नुवारा एलियामा ४, हंबनटोटा र कुरुनेगलामा १–१ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मध्य र पहाडी क्षेत्रमा थप बाढी र पहिरोको जोखिम बढ्दै गएको र सडक अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्।
मौसमी अवस्था बिग्रिँदै गएपछि परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका विश्वविद्यालय परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। आपतकालीन टोलीले उच्च जोखिम क्षेत्रमा खोजी र उद्धार कार्य जारी राखेको छ भने सरकारले जनतालाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij