काठमाडौँ : काठमाडौंको मुख्य सडकछेउ पोको पारेर राखिएको अवस्थामा शनिबार एक महिलाको शव फेला पर्यो । कालो प्लास्टिक र तन्नाले बेरेको अवस्थामा बेवारिस शव फेला परेपछि प्रहरी अनुसन्धानमा जुट्यो र पक्राउ परे २४ वर्षीय सूर्य थापा मगर ।
५ सय रुपैयाँ लेनदेनको विवादका कारण ती महिलाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलाएको छ । मगरले आफूले नै हत्या गरेको प्रहरीसामु स्वीकार गरेका छन् । मृतक माया मगर भन्ने आयुषा मगर भएको पुष्टि भइसकेको छ ।
कसरी भयो घटना ?
१४-१५ दिनअघि माया र डोल्मा बोम्जन नाम गरेकी अर्की एक महिला टोखा नगरपालिका-९ मिलनटोल गोंगबु नयाँ बसपार्कस्थित होटेल रोयल कुन्डला पुग्छन् । राति १२ बजेतिर पुगेका उनीहरुमध्ये डोल्मा छततिर जान्छिन् भने माया स्टाफ रुपमै बसेर गफ गर्न थाल्छिन् । त्यहीँ पुगेका सूर्यसँग उनी 'ब्राउन सुगर किन्न' भन्दै ५ सय रुपैयाँ माग्छिन् ।
बाहिर निस्किएकी उनी केहीबेरमा फर्कन्छिन् । तर, सूर्यले ५ सय रुपैयाँ फिर्ता माग्न थाल्छन् । त्यही विषयमा उनीहरुबीच वादविवाद सुरु हुन्छ । आवेशमा आएका सूर्यले जुत्ताको तुनाले मायाको घाँटीमा बाँधेर भुइँमा लडाउँछन् र मुक्का प्रहार गर्छन् । त्यसपछि आफूले फोहोर फाल्ने कालो प्लास्टिकमा हाले दुईवटा तन्नाले बाँधेर सडकमा फालेको उनले प्रहरीसामु स्वीकार गरेका छन् ।
टोखा-९ चक्रपथ खण्डमा मायाको शव शनिबार फेला परेको थियो । मृतकको शरीरमा बेरिएको तन्नाको ट्यागका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । त्यसमा लेखिएको १४५५ नम्बर नै होटेल रोयल कुन्डलाको स्टाफ रुपमा रहेको तकियाको खोलको ट्यागसँग मिलेको थियो ।
पक्राउ परेका सूर्य मिलनटोलस्थित खाजा पसलमा ७ महिनादेखि कार्यरत थिए । सोही खाजाघरमा मादक पदार्थ सेवन गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको थियो ।
मृतक मायाको सनाखत कान्छी आमाले गरिसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij