काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा र भवन निजी बोर्डिङ स्कुललाई गैरकानुनी रूपमा भाडामा दिएको विषयमा भ्रष्टाचार गरेको जिकिर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगले अनुसन्धानका क्रममा राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा–१, पुरानो टुँडिखेलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम् पदेन सदस्य साहारा प्रधान, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाईं तथा अञ्जुली बोर्डिङ स्कुल प्रालिका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी संलग्न रहेको पाइएको भन्दै आइतबार आरोपपत्र दायर गरेको हो ।
अनुसन्धान अनुसार, विद्यालयको नाममा रहेको ३७–८–०२ (१९०९४.३० वर्ग मिटर) क्षेत्रफलको कित्ता नं. ३४३ को जग्गामा बनेका पूर्वाधारसहितको करिब ४ रोपनी जग्गा र भवन १२ वर्षका लागि निजी सञ्चालित अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई भाडामा दिने गरी गैर कानुनी निर्णय गरिएको थियो।
यस कार्यबाट १५ लाख २९ हजार ४ सय ८ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको अख्तियारको ठहर छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ को उपदफा (१) को देहाय (च) र (घ), दफा १९ को उपदफा (२) र दफा २२ बमोजिम कसुर गरेको भन्दै कैद र जरिवानासहित बिगो असुल उपरको मागदाबी गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij