Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा

गण्डकी : कास्की जिल्ला प्रहरी कार्यालयले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न ५३ जना व्यक्तिलाई नियन्त्रणमा लिई मुद्दा चलाएको छ।किटानी जाहेरीका आधारमा हालसम्म पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए। वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो।

आगजनी, तोडफोड र लुटपाटका घटनामा सरकारी निकायबाट २३ र निजीतर्फबाट आठवटा जाहेरी परेको सूचना अधिकारी बस्नेतले जानकारी दिए।

“सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा आगजनी र लुटपाट गर्नहरूको पहिचान गर्ने र नियन्त्रणमा लिने काम भइरहेको छ”, उनले भने, “आपराधिक गतिविधिमा संलग्नको पहिचानमा सहयोग गर्न सबैमा आग्रह पनि गरिएको छ।”कास्की प्रहरीले सरकारी कार्यालयसहित व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटको भिडियो सार्वजनिक गर्दै त्यस्ता कार्यमा संलग्न देखिएका व्यक्तिलाई पहिचान गर्न सकेमा नाम, ठेगाना, सम्पर्क नम्बर आदि उपलब्ध गराउन आग्रह गरेको हो।

आपराधिक गतिविधिमा संलग्न व्यक्तिका बारेमा सूचना दिने व्यक्ति–संस्थाको गोपनियता कायम राखिने कार्यालयका सूचना बस्नेतले बताए। आन्दोलनका नाममा आपराधिक कार्य गर्ने व्यक्तिको पहिचान गर्न सहज होस् भनेर सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरी यस कार्यमा सघाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ।

प्रदर्शनकारीले लुटेका केही हतियारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरामा रहेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो।आन्दोलनमा कास्कीसहित गण्डकी प्रदेशभित्र सरकारी र निजी क्षेत्रतर्फ गरी झण्डै पाँच अर्ब बराबरको क्षति पुगेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट