गोरखा : करिब चार वर्षअघिदेखि प्रसारण लाइन बिस्तार भए पनि अन्धकारमै रहेको लाप्राक बस्तीमा अन्ततः केन्द्रीय विद्युत् पुगेको छ । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकमा बिहीबारदेखि औपचारिक रूपमा केन्द्रीय प्रसारणलाइनको बिजुली प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
कार्यालय प्रमुख चीजबहादुर गुरुङका अनुसार वडा कार्यालयमा मिटर बक्स जडानसँगै विद्युत् प्रवाह सुरु गरिएको हो । “बक्स जडान भएसँगै घरघरमा पनि क्रमशः मिटर जडान हुँदैछ,” उनले बताए ।
पहिलो चरणमा ६० घरधुरीमा मिटर जडानको काम भइरहेको छ भने हालसम्म ८० वटा निवेदन दर्ता भइसकेका छन् । गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती र पुरानो लाप्राक दुवै क्षेत्रमा मिटर जडान गरिने प्राधिकरणले जनाएको छ । लाप्राकमा करिब ६ सय घरधुरी छन् ।

११ केभी क्षमताको प्रसारण लाइन चार वर्षअघि नै बिस्तार भए पनि विभिन्न कारणले विद्युत् प्रवाह हुन सकेको थिएन । आवश्यक मर्मत र वितरण लाइन निर्माण कार्य सम्पन्न भएपछि मात्र बिहीबारदेखि बिजुली बालिएको हो ।
सिरानचोक–२ थालाजुङको ठूलस्वाँरा सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको छ । गुप्सीपाखामा १०० केभीए र पुरानो बस्तीमा ५०-५० केभीएका गरी तीन ट्रान्सफर्मर जडान गरिएको छ ।
स्थानीयले हालसम्म २० र २६ किलोवाटका दुई लघुजलविद्युत् आयोजनाबाट अपुग रुपमा बिजुली बाल्दै आएका थिए । पावर अभावका कारण वाइफाइ नचल्ने, उपकरण नचल्नेजस्ता समस्या आइरहेको गुनासो थियो । “केन्द्रीय लाइन सञ्चालनमा आएपछि अब त्यस्ता समस्या हुने छैनन्,” वितरण केन्द्र प्रमुख गुरुङले भने ।

गण्डकी प्रादेशिक कार्यालय प्रमुख विक्रमकुमार अमात्य तथा वडाध्यक्ष किसान गुरुङले संयुक्त रूपमा मिटर बक्स जडान गरी केन्द्रीय प्रसारण लाइनको उद्घाटन गरेका छन् ।