काठमाडौँ : सुनसरीको रामधुनी नगरपालिका–४ स्थित रामधुनी मन्दिर नजिकै रहेको सुनसरी खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ।
मोरङ सुन्दरहरैचा नगरपालिका–३ बस्ने ४१ वर्षीय देवेन्द्र भट्टराई नुहाउने क्रममा खोलामा बेपत्ता भएका थिए। खोजतलासका क्रममा सशस्त्र प्रहरीले आज उनको शव घटनास्थलभन्दा करिब ५० मिटर तल फेला पारेको हो।
उनीसँगै नुहाउन गएका सुनसरीको इटहरी उपमहानगरपालिका–१३ बस्ने 54 वर्षीय रोहित काफ्लेलाई भने सुरक्षा टोलीले जीवितै उद्धार गरी उपचारका लागि साई अस्पताल पठाइएको छ।
साथीभाइसँगै गएको समूहका 58 वर्षीय भीमराज काफ्ले नुहाएर किनारमा फर्कँदा देवेन्द्र भट्टराई र रोहित काफ्ले खोलामा डुबेको जानकारी गराएका थिए। सूचना पाएलगत्तै मन्दिर सुरक्षार्थ खटिएको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरीका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटुवालको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको थियो।
सुरक्षा टोलीले समयमै उद्धार गर्दै रोहित काफ्लेलाई जोगाउन सफल भए पनि देवेन्द्र भट्टराईलाई बचाउन सकिएन। शव परीक्षणपछि परिवारलाई बुझाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij