काठमाडौं : रौतहट प्रहरीले पछिल्लो २८ दिनमा ४० लाखभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, ३८ लाख बराबरको भन्सार छलीको सामान, ५ सवारीसाधन, ५ तस्कर र २ लाख ५० हजार रुपैयाँको स्रोत नखुलेको हुण्डी बरामद गरिएको छ।
फैसला कार्यान्वयनमा १० प्रतिवादी पक्राउ परेका छन् भने जेने–जी आन्दोलनताका ३३ फरार प्रतिवादी नियन्त्रणमा आएका छन्। लागुऔषध नियन्त्रणमा १५०० थान नशालु इन्जेक्सनसहित २ जना पक्राउ परेका छन् भने १७ शंकास्पद सेवनकर्ता परामर्शपछि छोडिएका छन्।
ट्राफिक व्यवस्थापनमा १०८ दुर्घटना भएका छन्, ३ जनाको मृत्यु, १४ गम्भीर र १७५ सामान्य घाइते भएका छन्। ४७५ सवारीसाधनमाथि कारबाही भई ४ लाख २३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
एसपी कार्कीले आपराधिक गतिविधि र तस्करी रोक्न, शान्ति–सुरक्षा मजबुत बनाउन छुट्टै अभियान चलाइने र फागुन २१ को प्रतिनिधि सभा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन तयारी भइरहेको बताए।