काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ। टोलीले प्रहरीले नियन्त्रणमा राखेका प्रसाईं र सम्बन्धित प्रहरी अधिकारीहरूसँग भेट गरी विषयमा जानकारी लिएको आयोगले जनाएको छ।
प्रसाईंलाई गएराति १२:३० बजे भक्तपुरको सानोठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्ति–सुरक्षा विरुद्धको गतिविधि सम्बन्धी अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरमा राखिएको छ। प्रहरी प्रतिवेदनअनुसार उनलाई आवश्यक कानुनी प्रक्रिया अनुसार पक्राउ तथा थुनुवा पुर्जी थमाइएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चुनावको घोषणा भइसकेको र राजनीतिक परिस्थिति संवेदनशील अवस्थामा पुगेको प्रसङ्गमा राज्यले शान्ति–सुरक्षा कायम राख्नुपर्नेमा आयोगले जोड दिएको छ। शान्ति–सुरक्षा कायम गर्नु केवल सरकार र सुरक्षा निकायको जिम्मेवारी मात्र नभई नागरिकको समेत कर्तव्य भएको आयोगले जनाएको छ।
आयोगले विचार तथा अभिव्यक्तिको कारणले मात्र कसैलाई पक्राउ गर्नु मानव अधिकारविपरीत हुने उल्लेख गर्दै नेपाल सरकारलाई यस्तो कार्यप्रति गम्भीर हुन निर्देशन दिएको छ। साथै देशको शान्ति–सुरक्षामा असर पुग्ने अभिव्यक्ति र गतिविधि नगर्न राजनीतिक दल, अभियन्ता तथा आमनागरिकलाई पनि आयोगले प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमामार्फत आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij