Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१३ नम्बर गणको मिलेमतोमा तस्करी खुलमखुल्ला, माथिल्लो निकाय मौन

१३ नम्बर गणको मिलेमतोमा तस्करी खुलमखुल्ला, माथिल्लो निकाय मौन

काठमाडौं : सिमावर्ती पर्सामा सशस्त्र प्रहरी बल १३ नम्बर गणको संरक्षणमा हाल ठूलो मात्रामा तस्करी फेरि सुचारु भएको छ तर माथिल्लो निकाय भने मौन देखिन्छ । सिमानाका जस्तै संवेदनशील क्षेत्रमा तस्करीको कथा नयाँ नभए पनि यसपटक सशस्त्र प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी बढेको स्थानीयहरू बताउँछन्। केही महिना अघिदेखि रोकिएको तस्करी अहिले सबैठवा, धौरै र भिस्वा नाकाबाट तीव्ररूपमा मौलाउँदै गएको छ।

सिमानामा २४ घण्टा सशस्त्र प्रहरीको ड्युटी हुँदा–हुँदै पनि रातभरि अवैध समान भित्रिने–निस्किने क्रम निरन्तर चलिरहेको छ। विशेषतः पर्साको पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने भिस्वा नाकामा प्रहरीकै संरक्षणमा तस्करी निर्वाध भइरहेको बताइन्छ । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म लाहवरथकरीका प्रमुख डिएसपी लोकनाथ उप्रेती र बञ्जारी भिस्वा बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रोशन सिंग्देल आएदेखि नै ठूलो आर्थिक चलखेलसँगै तस्करी खुलेर चल्न थालेको हो।

केही समयअघि नेपालबाट भारतको सिकटा पुर्याइएको ठूलो मात्रामा चाइनिज लसुन बरामद भएपछि भिस्वा नाका तस्करी बन्दजस्तै भएको थियो तर सिंग्देल आएसँगै पुनः सक्रिय भएको तस्करहरू नै बताउँछन् । ‘तस्करी गर्नुस्, म खुलेर सहयोग गर्छु’ भन्दै उनले साना–ठूलादेखि सबै समूहलाई लाइन दिएको तस्करहरूको दाबी छ।

अहिले भारतको सिकटा–तर्फबाट लत्ता–कपडा, हार्डवेयर, इलेक्ट्रोनिक सामान, मिठाई, किराना सामग्रीलगायतका वस्तुहरू भिस्वा नाकामार्फत नेपाल भित्रिँदा नेपालबाट चाहिँ लिभर लिमिटेडका कस्मेटिक, गोल्डस्टार जुत्ता र चाइनिज फजी स्याउ भारत तस्करी भइरहेको पाइन्छ । विगत चार महिनादेखि रोकिएको तस्करी फेरि चल्न थालेको कारण पनि डिएसपी उप्रेती र निरीक्षक सिग्देलको संरक्षण नै भएको स्थानीयको आरोप छ । यसैगरी सशस्त्र प्रहरी गुल्म सबैठवाको अगाडिको बाटो प्रयोग गरी लत्ताकपडा, माछा र कुखुराका चल्ला ठूलो मात्रामा तस्करी भइ पोखरीया, विश्रामपुर, महुवन, डकैला बहुअवरी, बढनिहियार हुँदै जितपुरसम्म पुर्याइने गरिएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेक्वाका प्रमुख एसपी पुरन चन्द भट्टले डिएसपीमार्फत महिनावारी बुझेर भिस्वा, सबैठवा र धौरे नाकाबाट तस्करीको लाइन दिएको आरोप व्यापारीहरूले लगाएका छन् । उल्टै तस्करीबारे सूचना दिने स्थानीयलाई मुद्दा लगाइदिने धम्की दिने गरेको दाबी उनीहरूको छ।

मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले तस्करी बन्द रहेको बताउँदै आएका छन् तर पर्सामा व्यापक तस्करी चलिरहेकाले माथिल्लो निकायको मौनता नै शंकाको विषय बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट