काभ्रेपलाञ्चोक : मण्डनदेउपुर नगरपालिका–६ को कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
बा ५ ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। दुर्घटनामा मण्डनदेउपुर–७ झगारपुर निवासी २८ वर्षीय चालक किसिम राईको घटनास्थलमै जलेर मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन विष्टका अनुसार चालक राई ‘स्टेरिङ’मै जलेको अवस्थामा फेला परेका थिए। दुर्घटनामा सोही वडाका २२ वर्षीय सहचालक विक्रम राई गम्भीर घाइते भएका छन्।
घाइते राईको शरीरका विभिन्न भाग जलेकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार दुर्घटना र आगलागीबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij