काठमाडौं : इतिहासकै कठिन अवस्थाबाट माथि उठ्दै गरेको नेपाल प्रहरी फेरि विवाद र गुटबन्दीको चपेटामा परेको छ । जेनजी आन्दोलनको क्रममा बल प्रयोगका विषयलाई लिएर प्रहरीभित्र आन्तरिक चलखेल तीव्र बनेको छ ।
आन्दोलनमा कसैले अत्यधिक बल प्रयोग गरेको भन्दै आरोप लगाइँदा, कतिपय अधिकारीमाथि भने बल प्रयोग नगरेको कारण दोषारोपण भइरहेको छ । प्रहरी संगठनभित्रैका केही अधिकारीहरू व्यक्तिगत स्वार्थका लागि यस्ता विषय उठाउँदै संगठनको मनोबल कमजोर पार्ने खेलमा लागेको आरोप छ ।
जेनजी आन्दोलनमा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले हाल उपत्यकामा कार्यरत प्रहरी अधिकृतहरुलाई बयानका लागि बोलाउने तयारी गरिरहेको छ । सो क्रममा प्रहरी प्रधान कार्यालयले लेखेको पत्र सार्वजनिक भएपछि वृत्त इन्चार्जहरू तनावमा छन् ।
त्यसदिन बल प्रयोग नगरेका कारण उपत्यकाका प्रहरी कार्यालय जलेको आरोप एआइजी दानबहादुर कार्कीमाथि लगाइँदैछ । तर प्रहरी अधिकारीहरू भन्छन् — “त्यो दिन बल प्रयोग भएको भए ठूलो जनधनको क्षति हुने थियो।”
प्रहरी स्रोतका अनुसार अबको एक सातापछि प्रहरी नेतृत्व फेरिनेछ । वर्तमान आईजीपी चन्द्रकुबेर खापुङ २६ कात्तिकमा अवकाशमा जानेछन् । त्यसपछि दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र शिद्धिबिक्रम शाहमध्ये एक आईजीपी बन्नेछन् ।
तर, कार्कीलाई रोक्न प्रतिस्पर्धी पक्षले उनलाई विवादमा तान्न खोजेको आरोप लाग्दैछ । यद्यपि, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल दुवै “वरियतामाथि आधारित नियुक्ति” को पक्षमा रहेको भन्दै यस्तो चलखेल सफल नहुने सम्भावना उच्च छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij