सप्तरी : सप्तरीमा श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका–३ स्थित माईतीघरमा बस्दै आएकी ३५ वर्षीया सुनिता सदाको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरायसी विवादका क्रममा सिरहा मिर्चैया नगरपालिका–१० का रतन सदाले कात्तिक ११ गते माईती घरमै श्रीमती सदा माथि बञ्चरो प्रहार गरेका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदा आर्थिक अभावका कारण उपचार गर्न नसकी घर फर्काइएको थियो । मिर्चैया–१०, मथलेश्वरस्थित घरमै उपचार अभावका कारण उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
घटनामा संलग्न रतन सदालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij