चितवन : ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको भौतिक संरचना पुनर्निर्माण सम्पन्न भएपछि एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। नयाँ भवनसहितको पुनर्निर्माणले प्रहरी सेवाको प्रभावकारिता र समुदायसँगको सहकार्यमा थप सशक्तता ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने आवश्यकता औंल्याउनुभयो। उहाँले पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीले नयाँ संरचनाले सेवा प्रवाहमा सहजता ल्याउने र जनताको सुरक्षा सुनिश्चित गर्न थप सहयोगी भूमिका खेल्ने बताउनुभयो।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुनर्निर्मित संरचना प्रशासनिक सुशासन र सुरक्षाको मजबुत प्रतीक भएको टिप्पणी गर्नुभयो। उहाँले नागरिक र प्रशासनबीचको समन्वयमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

रत्ननगर नगर प्रमुख प्रलाद सापकोटाले नगरपालिकाको सहकार्य र योजनाबद्ध साझेदारीमार्फत यस किसिमका पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले संघको तर्फबाट प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने सबै सहयोगी र सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। सो अवसरमा संघका कार्यसमिति सदस्य रविचन्द्र तिमिल्सिनाले पुनर्निर्माणमा सहयोग पुर्याउने व्यक्तिहरू र संस्थाहरूको नाम बाचन गर्नुभएको थियो।

यस अन्तरक्रिया कार्यक्रममा प्रहरी सेवा, उद्योग वाणिज्य क्षेत्र र स्थानीय समुदायबीचको आपसी विश्वास र सहकार्य अझ मजबुत बनेको सहभागीहरूले बताएका छन्।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij