काठमाडौं : पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी नागरिकलाई पदयात्रा गराएको ट्राभल एजेन्सी काराबाहीमा परेको छ । अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार मल्टी एड्भेञ्चर प्रालिलाई कारबाही गरिएको छ । उक्त एजेन्सीलाई अध्यागमन ऐन, २०४९ बमोजिम विभागले पहिलो पटकका लागि ४० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
कम्पनीले ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा विदेशी नागरिकलाई लिएर गएको थियो । नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा गर्नुअघि अध्यागमन विभागबाट पदयात्रा अनुमति पत्र लिनुपर्छ । अध्यागमन नियमावली, २०५१ अनुसार अनुमति लिइ पदयात्रा गर्न चाहने विदेशीले एजेन्सीमार्फत् अध्यागमन विभागमा निवेदन दिनुपर्ने हुन्छ । उक्त कानुनी व्यवस्था विपरित पदयात्रा गराएको कसूरमा जर्मनका नागरिकलाई पदयात्रा भ्रमणमा लैजाने गरी उक्त कम्पनीले २५ अक्टोबरदेखि १० दिनको अनुमति लिएको थियो ।
तर सो मितिको एक दिन अगाडि नै उक्त टोली कञ्चनजंघा क्षेत्रमा पुगेको थियो । त्यसभन्दा अगाडि नै विदेशी नागरिक लिएर कम्पनीको तर्फबाट ट्रेकिङ गाइड दाइला शेर्पा पदयात्रामा गएका थिए । शेर्पालाई कारबाही गर्न पर्यटन बोर्डमा समेत लेखी पठाइएको छ । नेपालमा माथिल्लो मुस्ताङ, माथिल्लो डोल्पा, हुम्लाको सिमकोट, नाम्खा र चुंखेली, गोरखाको मनासलु क्षेत्र, कञ्चनजंघा, दोलखाको गौरीशंकर र लामाबगर क्षेत्र, किमाथांका, छेकम्पार र चुञ्चेत लगायतका १५ कजिल्लाका केही क्षेत्रलाइ सुरक्षा र सीमा संवेदनशीलताको आधारमा नेपाल सरकारले निषेधित क्षेत्र तोकेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij