दमक : झापाको शिवसताक्षी–१० माइधारका ३३ वर्षीय सरोज शर्माको आफ्नै छिमेकीहरूको षड्यन्त्रमा परेर अपहरणपछि हत्या गरिएको तथ्य बाहिर आएको छ।
गत आइतबार ‘कार धुने’ भन्दै घरबाट निस्किएका शर्मा केहीबेरमै सम्पर्कविहीन बनेपछि परिवारले खोजतलास थालेको थियो। बा १–०३०–च ७१९४ नम्बरको कारमा निस्किएका उनी अन्तिमपटक सुरुङ्गा बजार आसपासमा मोबाइल लोकेशन देखिएको थियो। त्यसपछि सम्पर्क विच्छेद भएपछि घटना रहस्यमय बनेको थियो।
प्रहरी अनुसन्धानले शर्माको छिमेकी सुनिल साहको समूहले योजनाबद्ध रूपमा अपहरण गरी हत्या गरेको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रकुमार खड्काका अनुसार पक्राउ परेका दुई छिमेकीले अपराध स्वीकार गरेका छन्।
सस्तो सुन उपलब्ध गराउने भन्दै एक महिनादेखि विश्वास जितेर शाहले शर्मालाई फसाएको खुलेको छ। त्यस क्रममा शाहले अर्जुनधारा–४ को दहिझोडा सामुदायिक वनमा बोलाएर हातौडाले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरीको भनाइ छ।
हत्या गरेपछि शव झापा गाउँपालिकास्थित विरिङ पुलमुनि गाडिएको र प्रयोग गरिएको सवारीसाधन चारआली जंगलमा लगेर जलाइएको अनुसन्धानमा खुलेको छ।
मुख्य योजनाकार २५ वर्षीय सुनिल साह र उनका सहयोगी २६ वर्षीय राहुल साह पक्राउ परेका छन्। अन्य फरार अभियुक्तहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
शर्मा काठमाडौँस्थित एक आइटी कम्पनीमा कार्यरत थिए र तिहार–छठ मनाउन घर आएका बेला यो दुःखद घटना घटेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij