अछाम : अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार राति भीषण आगलागी हुँदा सात वटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् । स्थानीयका अनुसार राति करिब पौने ९ बजे सुरु भएको आगो डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा अशोक कुँवरको जुत्ता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवरको काण्टर पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल पूर्ण रूपमा जलेका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्टका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । स्थानीय बासिन्दा र सुरक्षा निकायले जेसिबी र पानी ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए ।
छ महिनाअघि पनि सोही स्थान नजिकै आगलागी भएको थियो । पुनः भएको आगलागीले व्यापारीहरूलाई ठूलो आर्थिक क्षति पुर्याएको छ । स्थानीय प्रशासनले राहत तथा क्षतिको विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij