काठमाडौँ : उपत्यकाका विभिन्न स्थानमा सुनका सिक्री चोरी र लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट चोरीसम्बन्धी कसूरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ पर्नेहरूमा सिन्धुलीका राज लामा, उदयपुरका विशाल भन्ने दुर्गबहादुर मगर, रामेछापका दिलबहादुर बि.क, बागलुङका गोबिन्द सुनार र कैलालीका दिपेस रसाइली रहेका छन्।
प्रहरीका अनुसार राज लामा र दुर्गबहादुर मगर मोटरसाइकलमा सवार भई सिक्री तान्ने कार्यमा प्रत्यक्ष संलग्न थिए भने बाँकी तीनजना लुटिएको सुनका सिक्री खरिद–बिक्रीमा संलग्न थिए। उनीहरूले २०८२ असोज ८ गतेदेखि कार्तिक १ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा सात पटकसम्म सिक्री लुटपाट गरेका थिए। ती घटनाबाट विभिन्न तोलाको सुनका सिक्री र मोबाइल फोन लुटिएको खुलेको छ।
अनुसन्धानका क्रममा प्रहरीले राज लामा र दुर्गबहादुर मगरको कोठाबाट मोबाइल, सिमकार्ड, मोटरसाइकल, सुन किनबेचका बिल र लुटपाटमा प्रयोग भएका कपडा बरामद गरेको जनाएको छ।
त्यस्तै, दिलबहादुर बि.क. सञ्चालित श्री लक्ष्मी ज्वेलर्सबाट रु. ३ लाख ८८ हजार ५ सय नगद, दिपेस रसाइलीको कोठाबाट ६४ लाल तौलको सुनका ढिक्का र गोबिन्द सुनारको बागलुङस्थित कालिका ज्वेलर्सबाट ७ तोला ४८ लाल बराबरको सुन र रु. १ लाख ६६ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूविरुद्ध चोरी, लुटपाट र गैरकानुनी रूपमा सुन किनबेच गरेको अभियोगमा थप अनुसन्धान जारी रहेको बताएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij