Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुर्खेतमा भुवा जात्रादरम्यान काकाको हत्या, भतिज पक्राउ

सुर्खेतमा भुवा जात्रादरम्यान काकाको हत्या, भतिज पक्राउ

सुर्खेत : कर्णालीमा तिहार आसपासमा लाग्ने परम्परागत भुवा जात्रामा रमाइलो गर्न गएका एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सो घटनामा मृतकका भतिज नै संलग्न रहेको खुलेको छ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–१०, घाटगाउँमा कात्तिक ३ गते राति लागेको भुवा जात्रामा गएका २१ वर्षीय भुवन धमला घर फर्किन नपाउँदै ज्यान गुमाएका हुन्। उनी चौकुने–७, गुटुका हेमन्त धमला (२०) सँगै जात्रा हेर्न गएका थिए।

जात्रा सकेर अरू सबै घर फर्किए पनि भुवन नआएपछि परिवारजनले खोजी गर्दा पत्ता लागेन। अन्ततः कात्तिक ७ गते दिउँसो चौकुने–१०, ताताथाई भन्ने स्थानस्थित तामाधारा खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार शवमा देखिएका गम्भीर चोटका कारण हत्या भएको पुष्टि भएको थियो। अनुसन्धानको क्रममा हेमन्तको ज्याकेटमा रगतको दाग भेटिएपछि उनीमाथि शंका थप बलियो बनेको हो।

सुरुमा घटनाबारे जानकारी लुकाउन खोजेका हेमन्तले अन्ततः काकासँग मदिरा सेवनपछि मोबाइल र पैसाका विषयमा विवाद भएको बयान दिएका छन्। सोही विवाद झगडामा परिणत हुँदा उनले काकालाई निर्घात कुटपिट गरेको प्रहरीको भनाइ छ।

मृतक भुवन रोजगारी गरेर परिवार चलाउने मेहनती युवक थिए। तिहारमा दिदीको हातबाट टीका लगाउने उनको सपना भुवा जात्रामै समाप्त भयो। मृतकका आफन्तले हेमन्तविरुद्ध किटानी जाहेरी दिएका छन् भने प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा पक्राउ गरी म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

तर चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाका अनुसार घटनामा अन्य पनि संलग्न हुनसक्ने संकेतहरू छन्। “भुवनको लास वरिपरि मोबाइल, जुत्ता, टोपी र लाइटर फेला परेको छ, घटनामा अरू पनि जोडिएको हुनसक्छ,” उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij