धनगढी : डोटीमा एक शिक्षिका मृत फेला परेकी छन् भने घटनासँग सम्बन्धित भन्दै एक शिक्षा अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–१ की २७ वर्षीया शिक्षिका जानकी खड्का बुधबार बिहान घरनजिकै झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। मृतक खड्का बाजुराको भानोदय माध्यमिक विद्यालय, बुढीगंगा नगरपालिका–५ मा कार्यरत थिइन्। उनले यसअघि धनगढीको डिस्कभरी स्कुलमा अध्यापन गर्दै शिक्षक सेवा आयोगमार्फत स्थायी नियुक्ति प्राप्त गरेकी थिइन्।
घटनापछि प्रहरीले शिक्षा समन्वय इकाई डोटीका शिक्षा अधिकृत गणेश रावललाई नियन्त्रणमा लिएको जनाएको छ। रावलमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
घटनास्थलबाट रावलकै नाममा लेखिएको सुसाइड नोट फेला परेको प्रहरी स्रोतको दाबी छ। त्यसपछि प्रहरीले घटनालाई शंकास्पद मानी थप अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार मृतक खड्का अविवाहित थिइन् भने पक्राउ परेका रावल विवाहित जीवनपछि सम्बन्ध विच्छेद गरी एक्लै बस्दै आएका थिए।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार घटनाको सबै पक्षको विस्तृत अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij