Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाट आरोपमा १० जना पक्राउ

प्रहरी कार्यालय तोडफोड र हतियार लुटपाट आरोपमा १० जना पक्राउ

पोखरा:  गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाट गरेको आरोपमा १० जना पक्राउ परेका छन् ।कास्की प्रहरीले भिडियो र फोटोहरूका आधारमा ट्रयाक गरेर उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ घर भई पोखरा ४ बस्ने राजेश मग्राती, पोखरा ११ का अरुण विक, पोखरा ४ का नारायण साई, पोखरा १ कसेरीका रुपेश मगर छन् ।यस्तै पोखरा १ कै दिपु साई, अन्नपूर्ण ५ नयाँपुलका लङबहादुर नेपाली, नयाँपुलकै अरविन विक, अन्नपूर्ण ६ हाइजुङका ग्रिस क्षेत्री पनि पक्राउ परेका छन् ।अन्नपूर्ण ५ नयाँपुलका थमबहादुर सार्की र पूर्णबहादुर नेपालीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमध्ये जिल्ला प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने र आगो लगाउने ४ जना छन् भने बगरमा आगो लगाउने १ जना, नयाँपुल प्रहरी चौकीमा आगो लगाउने ५ जना छन् ।

सबैलाई कास्की जिल्ला अदालतबाट ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थप भएको सूचना अधिकारी डिएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।

आन्दोलनका क्रममा ४ दर्जनभन्दा बढी हतियार लुटपाट भएकोमा करिब २ दर्जनजति प्रहरीले बरामद गरिसकेको छ । अझै २ दर्जन हराइरहेकोले खोजी भइरहेको बस्नेतले बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij