Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सुनसरी र मोरङबाट अझै दुई बालिका बेपत्ता

सुनसरी र मोरङबाट अझै दुई बालिका बेपत्ता

विराटनगर : मोरङ र सुनसरीका दुई बालिका अझै फेला नपरेका प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरूमा मोरङको केराबारी–३, रामपुरकी १४ वर्षीया रुका मगर र सुनसरीको इनरुवा–५ बलाहास्थित १५ वर्षीया भावना पाण्डे रहेका छन् । मगर भाइटीकाको दिनदेखि सम्पर्कविहीन छिन् । परिवारका अनुसार उनले घरमा कसैलाई जानकारी नदिई निस्किएकी थिइन् । आमा लीलामाया मगरका अनुसार भाइटीकाकै दिन घरबाट निस्किएकी छोरी अझैसम्म फर्किएकी छैनन् ।

सुनसरीको इनरुवा–५ बलाहास्थित १५ वर्षीया भावना पाण्डे पनि लक्ष्मीपुजाको दिनदेखि बेपत्ता छिन् । भैलो खेल्न भन्दै निस्किएकी उनी अझैसम्म घर फर्किएकी छैनन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेका अनुसार बेपत्ता किशोरीको खोजी भए पनि पत्तो लागेको छैन ।

एक साताअघि मोरङको उर्लाबारी नगरपालिका–३ मंगलबारेकी १४ वर्षीया आयुषा धिमाल हराएकी थिइन् । मामाघर कानेपोखरी–५ दुम्रीघाटबाट हिँडेकी उनलाई भने प्रहरीको टोलीले विराटनगर बरगाछीस्थित एक होटलबाट उद्धार गरेको थियो ।

दसैँको अन्तिममा हराएकी लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शुक्रबार बेलबारी–चिसाङ साझेदारी वनभित्र शव भेटियो । स्थानीय महिलाले घाँस काट्ने क्रममा क्षतविक्षत् शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउको र शरीर छुट्टिएको, कपडा च्यातिएको अवस्थामा शव फेला परेको छ । परिवारले कपडा, चप्पल र घडीका आधारमा शव पहिचान गरेका थिए ।

झापा बुद्धशान्तिकी १३ वर्षीया बालिका सन्ध्या गुप्ता शनिबार दिउँसोदेखि बेपत्ता भएकी थिइन् । घरबाट दिउँसो एकाएक बेपत्ता भएकी गुप्तालाई स्थानीय तथा प्रहरीको सहयोगमा शनिबार राति १० बजे काँकडभिट्टाबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पछिल्लो समयमा बालिका बेपत्ता हुने क्रम बढेको छ । सामाजिक सञ्जाल र मोबाइलको प्रयोगका कारण अपरिचितसँग प्रेम, लोभलालच र प्रलोभनमा परेर बालिका बेपत्ता हुने र त्यसपछि बलात्कार तथा हत्यासमेतका घटना भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij