Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राप्तीसोनारीमा बाघको आक्रमण, स्थानीय त्रसित र निकुञ्जसँग तनाव

राप्तीसोनारीमा बाघको आक्रमण, स्थानीय त्रसित र निकुञ्जसँग तनाव

बाँके : राप्तीसोनारी क्षेत्रमा पछिल्ला दिनमा जङ्गली जनावरको आक्रमण बढ्दै गएपछि स्थानीयवासी आतङ्कित बनेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँसदाउरा गर्न गएका मानिसमाथि आक्रमण गर्न थालेका छन् । यसले राप्तीसोनारी गाउँपालिका–९ का बासिन्दा त्रसित बनेको वडाध्यक्ष सोहनलाल थारूले जानकारी दिनुभयो ।

शनिबार भएको बाघको आक्रमणमा ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु भएपछि स्थानीय र निकुञ्ज प्रशासनबीच तनाव र असन्तुष्टि बढेको छ । शुक्रबार दिउँसो घाँस काट्न गएका खत्री साँझसम्म घर नफर्केपछि खोजतलासमा खटिएको प्रहरी र स्थानीय टोलीले शनिबार बिहान उनको शव बाघले खाएको अवस्थामा फेला पारेका थिए ।

घटनापछि स्थानीयले निकुञ्ज प्रशासनमाथि बेवास्ताको आरोप लगाउँदै शनिबार घटनास्थलमा खटिएका निकुञ्जका रेञ्जर जयहरि धिताल र समाचार संकलनका लागि पुगेका पत्रकार डिल्ली शाहीमाथि समेत हातपात गरेका थिए ।

निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेको छ । उहाँले घाइते र मृतकका परिवारलाई कानुन बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।

निकुञ्ज वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण बारम्बार दोहोरिँदा मध्यवर्ती क्षेत्रका स्थानीय त्रसित र असुरक्षित महसुस गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij