गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालिगण्डकी करिडोर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । गएराति बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको ध १ प ५५८२ नम्बरको होण्डा साइन मोटरसाइकल आफैं पल्टिएपछि स्थानीयले उद्धार गर्ने क्रममा झोलाभित्र कालो प्लास्टिकमा राखिएको लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मोटरसाइकल चालक बाग्लुङ नगरपालिका–२ रुद्रपिपलका ३२ वर्षीय मनोज प्रधानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी सहायक निरीक्षक रमबहादुर सारुको टोली पुगेको थियो भने थप अनुसन्धानका लागि प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा अर्को टोली पनि खटाइएको थियो । प्रहरीले घटनास्थलबाट डायाजेपाम ३० एम्पुल, फेनर्गन ३२ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल बरामद गरेको जनाएको छ । चालकलाई मेडिकल परीक्षणपछि इलाका प्रहरी कार्यालय रिडीमा हिरासतमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij