Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित, कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक खापुङको निर्देशन

प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित, कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक खापुङको निर्देशन

चितवन : नेपाल प्रहरी शिक्षालय भरतपुरमा सम्पन्न दीक्षान्त समारोहमार्फत ३७७ जना प्रहरी सहायक निरीक्षक (एएसआई) दीक्षित भएका छन्। प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९ औं समूह) का प्रशिक्षार्थीहरूलाई नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले शुक्रबार एक विशेष समारोहबीच दीक्षित गर्नुभएको हो । दीक्षान्त समारोहमा प्रमुख अतिथि रहेका महानिरीक्षक खापुङले प्रहरी संगठनको गौरवमय इतिहास, अनुशासन र कर्तव्यनिष्ठताको भावना आत्मसात् गर्दै नागरिक सेवामा समर्पित हुन सबै नयाँ एएसआईहरूलाई निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो,“प्रहरीको धर्म र कर्म नागरिकको सेवा हो। संगठनको गरिमालाई जोगाउँदै, तालिममा सिकेका सीप र मूल्यहरू व्यवहारमा उतार्दै जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस् ।” महानिरीक्षक खापुङले प्रहरीको उपस्थितिले नै नागरिकमा सुरक्षाको अनुभूति हुने भएकाले प्रत्येक प्रहरी सदस्यले आफ्नो जिम्मेवारीलाई ‘सेवाको अवसर’का रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार, प्रहरी संगठनका २,६६० वटा युनिटमार्फत देशभर अभिछिन्न सेवा प्रवाह भइरहेको छ र हरेक प्रहरी त्यसको पहिलो जवाफदेही हो । कार्यक्रममा महानिरीक्षक खापुङले नयाँ दीक्षितहरूलाई संगठनको इमान, शिष्टाचार र जनमैत्री व्यवहार कायम राख्दै समाजमा प्रहरीप्रतिको विश्वास अझ प्रगाढ बनाउन आग्रह गर्नुभयो।

तालिम र सहभागिता

दीक्षित भएका प्रहरी सहायक निरीक्षकहरू विसं २०८१ मङ्सिर ७ गतेदेखि आधारभूत तालिममा सहभागी भएका थिए। तालिम अवधिभर उनीहरूले शारीरिक, मानसिक, नेतृत्व क्षमता, अनुसन्धान, ट्राफिक व्यवस्थापन, सूचना संकलन, जनसंपर्क र व्यावहारिक policing सम्बन्धी सीपमा दक्षता हासिल गरेका थिए। समारोहमा ५३ जना महिला सहित ३७७ जना प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक तालिम पूरा गरी दीक्षा ग्रहण गरेका हुन्। तालिमको प्रदर्शन मूल्याङ्कनमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई विशेष सम्मान गरिएको थियो।

प्रमुखहरूको सहभागिता

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्दै दीक्षित प्रहरीहरूलाई भविष्यमा संगठनप्रति समर्पित रहन प्रेरणा दिएका थिए। समारोहमा दीक्षित प्रहरीहरूका परिवारजन, स्थानीय सरोकारवाला, प्रहरी अधिकारी र अतिथिहरूको उपस्थिति रहेको थियो।

सेवा र जिम्मेवारीप्रति प्रतिबद्धता नवदीक्षित प्रहरी सहायक निरीक्षकहरूले शपथग्रहण गर्दै देश, जनता र संगठनप्रति समर्पित रहन प्रतिवद्धता जनाएका छन्। उनीहरूले तालिममा सिकेका सीप र अनुशासनलाई व्यवहारमा उतार्दै संगठनको गौरव बढाउने प्रतिज्ञा गरेका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरले अहिलेसम्म हजारौं प्रशिक्षार्थीलाई दक्ष र जिम्मेवार प्रहरीका रूपमा देशका विभिन्न युनिटहरूमा पठाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij