हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बसपार्कस्थित गुम्बा नजिक रहेको एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये खाजा घर सञ्चालक हेटौँडा–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान र उनकी श्रीमती ३५ वर्षीया वसन्ती ब्लोन रहेका छन् । त्यसैगरी हेटौँडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, न्युरेनीका ३८ वर्षीय टुमबहादुर वाइबा, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४ हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, सोही स्थानकी ३० वर्षीया शान्तिमाया तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी हेटौँडा १० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन, हेटौँडा–११ थाना भर्याङकी ४५ वर्षीया सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा पनि पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूमाथि पैसाको हारजित हुने गरी तास खेल्ने कार्यमा संलग्न भएको अभियोगमा अनुसन्धान भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij