हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–७ झ्याङजुवाङमा मोबाइल चार्ज गर्ने क्रममा भएको विष्फोटबाट घरमा आगलागी भएको छ। सोमबार दिउँसो सोलार ब्याट्रीमा राखिएको मोबाइल चार्ज हुँदै गर्दा मोबाइलको ब्याट्री पड्किएपछि आगो लागेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
ब्याट्री पड्किँदा कुर्सीमा आगो सल्किएको र त्यसपछि ढुङ्गा–माटोको पर्खाल र जस्ताको छानो भएको कच्ची घरमा आगो फैलिएको हो। आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा र अन्य घरेलु सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगो लाग्दा घरमालिक २६ वर्षीय शेरबहादुर प्रजाको दायाँ कान र घाँटीमा पोलिएको छ। उनी घरबाट नागरिकता निकाल्ने क्रममा घाइते भएका हुन् र हाल उनको घरमै सामान्य उपचार गरिएको छ।
आगलागी स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको भए पनि क्षतिको यकिन विवरण खुलेको छैन। घटना क्षेत्र विकट भएकाले थप जानकारी संकलनका लागि प्रहरी चौकी कान्द्राङबाट टोली खटिएको मकवानपुर प्रहरीका प्रवक्ता नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij