Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

देशभर डेङ्गुबाट चार जनाको मृत्यु, ५ हजार ८७४ जनामा सङ्क्रमण पुष्टि

देशभर डेङ्गुबाट चार जनाको मृत्यु, ५ हजार ८७४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ  : देशभर डेङ्गु सङ्क्रमण तीव्र बन्दै जाँदा चार जनाको मृत्यु भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म ७५ जिल्लामा पाँच हजार ८७४ जनामा डेङ्गु पुष्टि भएको छ। कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डोल्पा र मनाङ बाहेक सबै जिल्लामा संक्रमण देखिएको छ। सबैभन्दा बढी सङ्क्रमण गण्डकी प्रदेशमा भेटिएको छ, जहाँ १ हजार ५०२ जनामा डेङ्गु पुष्टि भएको हो। त्यसैगरी बागमती प्रदेशमा १ हजार ३८०, लुम्बिनीमा ९९१, कोशीमा ८०३, सुदूरपश्चिममा ६८४, कर्णालीमा ३९० र मधेश प्रदेशमा १२४ जना संक्रमित फेला परेका छन्।

स्वास्थ्य विज्ञहरूको भनाइ अनुसार एडिज जातका लामखुट्टेको टोकाइबाट डेङ्गु फैलिन्छ। सफा पानी जम्ने जुनसुकै भाँडो, ट्यांकी, गमला वा टायरमा यी लामखुट्टे सजिलै प्रजनन गर्छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी र टाउको दुख्ने, राता बिमिरा देखिने, वाकवाकी वा वान्ता हुने जस्ता लक्षण डेङ्गुको संकेत हुन सक्छन्।

उनले डेङ्गु भएमा चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह गरेका छन्। ज्वरो आएको, खोकी लागेको वा सास फेर्न गाह्रो भएको अवस्थामा तुरुन्त स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। विशेषज्ञहरूले डेङ्गुको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले सतर्कता, सरसफाइ र लामखुट्टे नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij