काठमाडौँ : काठमाडौँको ठमेल स्थित बुद्धबार गल्लीमा असोज १३ मा झगडा भयो । मकवानपुर घर भएर बालाजु मनमैजु बस्ने २५ वर्षीय सुरज तामाङ घाइते भए । उनीमाथि अर्का युवकले कैँची प्रहार गरेका थिए । वीर अस्पतालमा उपचारको क्रममा असोज १४ मा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
तामाङको हत्यामा कारागारबाट भागेका युवकको संलग्नता पुष्टि भएको छ । जेनजी प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका आकाश मगरले उनको हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आकाश मगर दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् ।
हत्यापछि फरार रहेका मगरको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । मृतक र आरोपी पूर्व परिचित हुन् । घटनाकाे दुई दिनअघि पनि उनीहरूको बिचमा झगडा भएको थियो । त्यही रिसमा आकाशले असोज १३ मा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘दुई दिनअघि सुरजले हत्या आरोपीलाई कुटेको रहेछ ।’
आकाशलाई लागुऔषध मुद्दामा अदालतले ५ वर्ष कैद ठेकेको छ । लागुऔष नियन्त्रण ब्युरोले गरेको अनुसन्धानको आधारमा जेल परेका उनी २०८० असोज २७ गतेदेखि नख्खु कारागारमा थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij