रत्ननगर (चितवन) : श्रीद्धी फाउन्डेशन र शिवकाशी धामको संयुक्त आयोजनामा रत्ननगर–१३, अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा विद्यालय झोला (ब्याग) वितरण कार्यक्रम सम्पन्न गरिएको छ। समाजसेवी तथा शिवकाशी धामका अध्यक्ष धर्मेन्द्र सापकोटाको विशेष पहलमा गरिएको उक्त कार्यक्रममा विद्यालयका दर्जनौं विद्यार्थीहरूलाई नयाँ झोला वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी धर्मेन्द्र सापकोटाले शिक्षालाई उज्यालो भविष्यको ढोका भन्दै बालबालिकामा अध्ययनप्रतिको उत्साह जगाउन अभिभावक, शिक्षक र समुदाय सबैको संयुक्त भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले शिवकाशी धाम र श्रीद्धी फाउन्डेशनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोगका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यस्तै, शिवकाशी धामका अन्तर्राष्ट्रिय संयोजक सोमनाथ सापकोटाले नेपाल र विदेशमा रहेका नेपाली समुदायबीच शिक्षा र सामाजिक उत्तरदायित्वप्रति जागरुकता फैलाउने उद्देश्यका साथ संस्था सक्रिय रूपमा कार्यरत रहेको बताउनुभयो। उहाँले “सानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ,” भन्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने उल्लेख गर्नुभयो।

शिवकाशी धामका सल्लाहकार तथा समाजसेवी सन्तोष देउवाले विद्यालय प्रशासन, शिक्षक र अभिभावकबीचको सहकार्य नै शिक्षाको सुधारको आधार हो भन्दै, समुदायमै आधारित सहयोगात्मक कार्यले विद्यार्थीहरूमा आत्मविश्वास र प्रेरणा जगाउने बताउनुभयो।

सो अवसरमा विद्यालयकी प्रधानाध्यापक श्रीमती रस्मीता तिवारीले विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा श्रीद्धी फाउन्डेशन र शिवकाशी धामलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्तो प्रकारको सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन दिने मात्र नभई अभिभावकमा पनि शिक्षाप्रतिको चेतना बढाउने बताउनुभयो।

विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूले झोला प्राप्त गरी खुशी व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

समापन सत्रमा श्रीद्धी फाउन्डेशन र शिवकाशी धामका प्रतिनिधिहरूले शिक्षाको उत्थानका लागि यस्ता सहयोगात्मक तथा चेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij