चितवन : चाडपर्वको अवसरमा यात्रुहरूको सुरक्षा र सहुलियत सुनिश्चित गर्न चितवन जिल्लामा चितवन प्रहरीले विशेष अनुगमन अभियान तीव्र बनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भरतपुर महानगरपालिका–१, आंपटारीचोक लगायत विभिन्न स्थानमा सवारी साधनहरूको जाँच र नियमन कडाइका साथ सञ्चालन गरिरहेको छ।
अभियानअन्तर्गत यात्रुहरूबाट कानुनी भन्दा बढी भाडा लिने सार्वजनिक सवारी चालकहरूलाई तत्काल कारबाही गर्दै भाडा फिर्ता गराइएको छ। साथै, सवारीसाधनको कागजात, चालकको लाइसेन्स, बसको क्षमताअनुसार यात्रु संख्या र अन्य सुरक्षा मापदण्डको समेत कडाइका साथ अनुगमन गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। नारायणघाट र पोखरा बसपार्क क्षेत्रमा सञ्चालनमा ल्याइएको अनुगमनमा उल्लंघनकर्तालाई ट्राफिक प्रहरीले स्पट फाइन (चिट) काटेर जरिवाना तिराउने कार्यसमेत गरिरहेको छ।
चितवन ट्राफिक प्रहरीका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण र यात्रु सेवामा पारदर्शिता कायम गर्न अनुगमन अभियानलाई अझ कडा बनाइएको हो। ट्राफिक प्रहरीले सबै सवारी चालक र यात्रुलाई कानूनको पालना गर्न आग्रह गर्दै, नियम उल्लंघन गर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij