धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन्। ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरी हिजो राति साढे ८ बजेतिर ५५ वर्षीया आमा राममायाको धारिलो हतियारले हत्या गरेका हुन्।
प्रहरी चौकी सल्यानकोटले घटनास्थलबाट यमबहादुरलाई नियन्त्रणमा लिएको र अनुसन्धान अघि बढाएको छ। प्रहरीले जनाएको छ कि यमबहादुर यसअघि पनि विभिन्न आपराधिक मुद्दामा संलग्न रहँदै आएका थिए। अनुसन्धानका क्रममा खुल्न आएको छ कि उनी गुण्डा नाइके दिनेश अधिकारीको ग्याङमा पनि संलग्न थिए।
घटनाको विवरण अनुसार, यमबहादुर दशैं मनाउन काठमाडौंबाट गाउँ आएका थिए। राति ८ बजेतिर उनी घरमा प्रवेश गर्दा पाँच सदस्यीय परिवारभित्र रहेका भान्जाभान्जी र बुवालाई पनि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए। भान्जा र बुवाले भागेपछि उनले आमालाई प्रहार गरेर हत्या गरेका थिए। घटनापछि शव आँगनमा राखेर बुवालाई धम्की दिएका थिए।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार भान्जाले गाउँमा खबर पुर्याएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेको बेला पनि उनले “अगाडि बढ्ने भए बुवालाई पनि मारिदिन्छु” भन्दै धम्की दिएका थिए। प्रहरीले बल प्रयोग गरी उनलाई नियन्त्रणमा लिएको थियो।
यमबहादुर सामाजिक सञ्जालमा गत भदौ २४ को जेनजी आन्दोलनमा पनि भाइरल भएका थिए। आन्दोलनको क्रममा उनले प्रहरीसँग झोक्किँदै विवादमा उत्रिएका थिए र गोली हान्न चेतावनीसमेत दिएका थिए।
प्रहरीका अनुसार, यमबहादुर विरुद्ध यसअघि पनि विभिन्न मुद्दा दर्ता भएका छन्। अनुसन्धान जारी रहेको छ र उनलाई अहिले हिरासतमा राखिएको छ।
स्थानीय प्रहरी अधिकारीहरूले यस्तो विभत्स हत्या कमै मात्र भेटिने घटनामा पर्छ भन्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij