झापा : शनिवारदेखि लगातार परेको अविरल वर्षाका कारण झापामा ठूलो बाढीको प्रभाव देखिएको छ। झापा गाउँपालिकास्थित सानोमाई खोलामा रहेको पक्की पुल बाढीले भत्किएपछि हुलाकी सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले पुलको संरचना क्षतिग्रस्त बनाउँदा झापा बजार, मिलनबस्ती र सुगा बथान जोड्ने मुख्य हुलाकी सडक खण्डमा सवारीसाधन सञ्चालनमा बाधा पुगेको छ। झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पुल बाढीको तीव्र बहावका कारण भत्किएको जानकारी दिनुभयो।
पुल भत्किएसँगै झापा गाउँपालिकाका खोला आसपासका सबै गाउँबस्ती डुबानमा परेका छन्। आइतवार साँझसम्म नेपाली सेनाको हेलिकप्टरले बाढीमा फसेकाहरुको उद्धार गरेर सुरक्षित स्थलमा ओसारिएको थियो।
नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले डुबान क्षेत्रको अवस्था अत्यन्तै भयावह रहेको बताउनुभयो। स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रका बासिन्दालाई राहत र सुरक्षा प्रदान गर्न जुटेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij