Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मनसुन जोखिमः नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलले विपद् उद्धारका लागि हजारौँ जनशक्ति परिचालित

मनसुन जोखिमः नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलले विपद् उद्धारका लागि हजारौँ जनशक्ति परिचालित

काठमाडौँ  : अविरल वर्षाका कारण उत्पन्न हुने मनसुनजन्य विपद्का बीच नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर ठूलो जनशक्ति परिचालन गरी उद्धार र व्यवस्थापन कार्यमा सक्रिय भएका छन्।

नेपाली सेनाले   ७७ वटै जिल्लामा ९४ गण र ५८ गुल्महरूमा आधारभूत उद्धार सामग्रीसहित तयारी राख्दै २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू अग्रिम तैनाथ गरेको छ। सुर्खेत र इटहरीमा हेलिकप्टर पनि राखिएको छ भने डुबान हुने सम्भावित क्षेत्रमा बस्ती स्थानान्तरण र सुरक्षित राख्ने कार्य भइरहेको छ।

नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि २० हजार ४८५ जनाको जनशक्ति परिचालन गरेको छ। कोशी प्रदेशमा जोखिमलाई ध्यानमा राखी सुरक्षाकर्मीहरू संयुक्त रूपमा परिचालित छन्। काठमाडौँमा मात्र १ सय ३० जना प्रहरी १५–१५ जनाको टोलीमा विभाजित भई र्‍याफ्टिङ बोटसहित उद्धार कार्यमा छन्। सात प्रदेशका प्रहरी गुल्महरूमा पनि १ सय २५ जनाको दरले स्ट्यान्डबाइ राखिएको छ। इलाममा गएको पहिरोमा पुरिएका व्यक्तिहरूको खोजतलास कार्य जारी छ।

सशस्त्र प्रहरी बल, नेपालले सात हजार ६ सय १५ जनालाई विपद् उद्धारका लागि तयारी अवस्थामा राखेको छ। यसमा १ सय ३५ जना गोताखोर र ३ हजार ९ सय जना तालिम प्राप्त जनशक्ति छन्। देशभर ३३ मोटरबोट र ९६ र्‍याफ्टिङ बोट गरी १ सय २९ वटा बोट तैनाथ गरिएको छ। एक लाख ६८ हजार ६ सय ९५ जना विपद् सूचक र ९ सय ९० तालिम प्राप्त समुदाय स्वयंसेवकहरूसँग समन्वय गरी उद्धार कार्य भइरहेको छ।

यसैबीच, काठमाडौँ, रौतहट, झापा र इलाममा उद्धार र राहत कार्य तीव्र गतिमा भइरहेको छ। काठमाडौँको बल्खुस्थित बागमती आसपास बसोबास गर्ने सय जना सुकुम्वासीलाई जनविकास मावि बल्खुमा सुरक्षित स्थानान्तरण गरिएको छ।

यस समन्वित प्रयासले विपद् जोखिमको सामना गर्न सुरक्षा र उद्धार संरचनाहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको देखाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट