Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

उपत्यकामा अविरल वर्षा : एआइजी दानबहादुर कार्की अग्रपंक्तिमा, प्रहरी प्रशासन उच्च सतर्कतामा

उपत्यकामा अविरल वर्षा : एआइजी दानबहादुर कार्की अग्रपंक्तिमा, प्रहरी प्रशासन उच्च सतर्कतामा

काठमाडौं  : राजधानी उपत्यकामा लगातार परिरहेको अविरल वर्षाले उत्पन्न गर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरी प्रशासन उच्च सतर्क अवस्थामा रहेको छ। उपत्यका प्रहरी प्रमुख एआइजी दान बहादुर कार्की स्वयं अग्रपंक्तिमा खटिँदै सुरक्षात्मक व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सक्रिय देखिएका छन्।

कन्ट्रोल रूममार्फत सम्पूर्ण परिस्थितिको प्रत्यक्ष अनुगमन गर्दै आइरहनुभएका एआइजी कार्की रातको समयमा समेत ड्युटीमा खटिएका प्रहरीहरूसँग भेटघाट गरी मनोबल उच्च राख्ने कार्यमा जुट्नुभएको छ। उहाँले जोखिम क्षेत्रका प्रहरी कार्यालयहरू र सडक खण्डहरूमा पुगेर सुरक्षाकर्मीहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिनुभएको बताइएको छ।

सामान्यतया उच्च प्रहरी अधिकारीहरू कार्यालयमै सीमित हुने प्रचलन भए पनि एआइजी कार्कीको फिल्डमा पुग्ने सक्रियता असाधारण मानिएको छ। उहाँको यस्तो नेतृत्वशैलीले प्रहरी बलमा नयाँ ऊर्जा र उत्साह थपिएको प्रहरी स्रोतहरूले बताएका छन्।

अविरल वर्षाका कारण उपत्यकाभरि पहिरो, सडक धसावट, ट्राफिक अवरोध र सम्भावित दुर्घटनाको जोखिम बढिरहेको छ। यस्तो अवस्थामा प्रहरी, स्थानीय निकाय र सम्बन्धित निकायबीच घनिष्ठ समन्वय गरी जोखिम न्यूनीकरणमा काम भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।

प्रहरी प्रशासनले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी किनार र जोखिमयुक्त स्थानहरूबाट टाढा रहन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट