वराहक्षेत्र : शनिबार बिहानदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ। आइतबार बिहान ७ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७१ हजार ३१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको जनाएको छ।
बढ्दो जलप्रवाह नियन्त्रण गर्नका लागि अहिले ब्यारेजका ३९ वटा ढोका खोलिएको छ। यसअघि आइतबार बिहान ५ बजे मात्र २ लाख २० हजार २२५ क्युसेक प्रतिसेकेन्ड पानी मापन गरिएको थियो। शनिबारदेखि निरन्तर भइरहेको वर्षाका कारण पहाडी क्षेत्रमा आएको भेलले कोशीमा थप पानी जम्मा हुन थालेको बताइएको छ।
हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको कोशी तटबन्धन क्षेत्रमा कार्यरत महोन मण्डलले जानकारी दिनुभयो। उहाँका अनुसार राजावास, प्रकाशपुर र मधुवनलगायत क्षेत्रमा कटानको जोखिम भए पनि अहिले स्थिति नियन्त्रणमै रहेको छ।
सप्तकोसीमा पानीको बहाव अझ बढ्ने सम्भावना रहेको जलस्रोत विज्ञहरूले चेतावनी दिएका छन्। नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij