काठमाडौँ : अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनेको छ । निरन्तरको वर्षाले धेरै स्थानमा ठूलो क्षति पुर्याउँदै देशका मुख्य ११ राजमार्गमा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सरकारले सम्भावित विपत्तिको जोखिम न्यूनीकरणका लागि सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको जनाएको छ । गृह मन्त्रालयका अनुसार खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका विशेष टोलीहरू काठमाडौँ, चितवन, इटहरी, सुर्खेत र धनगढी लगायतका स्थानमा तयारी अवस्थामा छन् ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म निरन्तर भारी वर्षाको पूर्वानुमान गरेको छ । त्यसअनुसार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारीसाधन तथा देशभरका लामो दूरीका यात्रामा तीन दिनका लागि प्रतिबन्ध लगाएको छ । नेपाल प्रहरीले अत्यावश्यकबाहेक सवारी नचलाउन माइकिङ गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
यातायात अवरुद्धसँगै मुलुकको आन्तरिक हवाई सेवा पनि प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरू प्रतिकूल मौसमका कारण स्थगित गरिएको छ । यात्रुहरू बाटोमै रोकिएपछि प्राधिकरणले स्थानीय तह र सरोकारवाला संस्थाहरूसँग समन्वय गरी खानपिन र आवासको व्यवस्था मिलाउन आग्रह गरेको छ ।
यसबीच गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी विपत् व्यवस्थापन कार्यालय सामाखुसीमा स्थलगत निरीक्षण गर्दै उद्धार तयारीको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले सीमित स्रोतका बीच पनि प्रहरीले गरेको तयारी प्रशंसनीय भएको बताउँदै सम्भावित विपत्मा तत्काल परिचालन हुन तयार रहन निर्देशन दिनुभएको छ ।
बाढीपहिरोका कारण देशका मुख्य ११ राजमार्ग—पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, नागढुङ्गा–मुग्लिङ, मुग्लिङ–नारायणघाट, नारायणघाट–बुटवल, काठमाडौँ–हेटौँडा जोड्ने फर्पिङ–सिस्नेरी र कालीगण्डकी कोरिडोर—मा आवागमन पूर्ण रूपमा रोकिएको छ ।
यसैबीच, रसुवा गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाउँदा भक्तपुरका चार जना बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमि र भक्तपुर नगरपालिकाका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ लाङटाङ भ्रमणका क्रममा खोल्साले बगाएका हुन् ।
त्यस्तै पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बलेरो दुर्घटनामा छ जनाको मृत्यु र छ जना घाइते भएका छन् । मृतकमध्ये सबै ताप्लेजुङका स्थानीय भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सरकारले विपत् व्यवस्थापनमा संलग्न सबै कार्यालय प्रमुखलाई कार्यस्थलमै उपस्थित रहन र आपत्कालीन कार्यमा जुट्न निर्देशन दिएको छ । साथै, गृह मन्त्रालयले निजी हेलिकोप्टर सञ्चालकहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
अविरल वर्षा अझै तीन दिनसम्म जारी रहने सम्भावना भएकाले सरकारले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न अनुरोध गरेको छ ।