Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नवलपरासीमा आगजनी र तोडफोड अभियोगमा पक्राउ परेका सबै छुटे

नवलपरासीमा आगजनी र तोडफोड अभियोगमा पक्राउ परेका सबै छुटे

परासी : नवलपरासीको जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न अभियोगमा पक्राउ परेका १४ जना शुक्रबार छुटेका छन्। उनीहरू सबैलाई आपराधिक उपद्रव (आगो लगाएको) कसुरमा मुद्दा चलाइएको थियो। सबैलाई हाजिर जमानी र धरौटीमा छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले भिडियो फुटेजसहितका ठोस प्रमाणका आधारमा बर्दघाटका एक चिकित्सकसहित ११ र सुनवलका ३ जनामाथि मुद्दा चलाइएको जनाएको छ। सबैलाई जनही ६० हजारका दरले धरौटी जम्मा गर्न लगाई आफन्तहरूले हाजिर गराउने सर्तमा छाडिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए। उनीहरू सबैलाई जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो।

जिल्लामा सबैभन्दा बढी क्षेत्र नम्बर १ का जनप्रतिनिधि र नेताका निजी सम्पत्तिमा आगजनी गरिएको थियो। मुद्दा चलाइएका सबै निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने रहेको प्रहरीले जनाएको छ।

उनीहरू पक्राउ परेपछि जेनजीका केही प्रतिनिधिहरूले काठमाडौंबाट जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई फोन गरेर छाड्न दबाब दिएका थिए। गृहमन्त्रीसँग कुराकानी भएको भन्दै उनीहरूले छाड्नका लागि दबाब दिएको बताइएको छ। नछाडे फेरि आन्दोलन चर्काउने भन्दै चेतावनीसमेत दिएको एक सुरक्षा अधिकृतले बताए।

स्रोतका अनुसार जेनजी प्रतिनिधिहरूले गृहमन्त्रीमार्फत जिल्लास्थित सुरक्षा अधिकारीलाई दबाब दिएर उनीहरूलाई छुटाएको बताइएको छ। तर जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठले भने कसैको दबाबमा नभई कानूनअनुसारको प्रक्रिया मिलाएर छाडेको दाबी गरेका छन्। ‘उनीहरूलाई हाजिर जमानीमा छाडिएको हो। अदालतमा रहेको मुद्दा हटेको होइन। आवश्यक परेको बेला उपस्थित गराउने शर्तमा छाडिएको हो। उनीहरूमाथि पछि अदालतले ठहरेबमोजिम हुन्छ,’ एसपी श्रेष्ठले भने।

मुलुकी अपराध संहिता २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ मा हिरासतमा रहेको व्यक्तिलाई अनुसन्धान अधिकारीले छाड्न सक्ने व्यवस्था छ। उक्त व्यवस्थामा अनुसन्धानको सिलसिलामा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारणसहित पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सक्ने उल्लेख छ। सोही व्यवस्थाअनुसार उनीहरूलाई धरौटी र हाजिर जमानीमा छाडिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू माथि सोही ऐनअनुसार मुद्दा चलाएको छ। उक्त ऐनमा कसैको घर, कार्यालय वा कुनै सम्पत्तिमा आगो लगाई वा विस्फोट पदार्थ प्रयोग गरी आपराधिक उपद्रव गरेकोमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद र २० हजारदेखि ५० हजारसम्म जरिबाना हुने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट