रौतहट : रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया बजारमा मंगलबार एक बैंकका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार गरी रकम लुटिएको छ। बाजबटी थाना क्षेत्रका ३० वर्षीय श्रवणकुमार रायमाथि यो आक्रमण भएको हो।
उनी ‘बंधन को-अपरेटिभ बैंक’का कर्मचारी हुन्। महिला समूहबाट किस्ताको रकम संकलन गरेर फर्कँदै गर्दा बैरगनिया थाना क्षेत्रको पचटकी यदु पञ्चायत नजिकै सुनसान ठाउँमा मोटरसाइकलमा आएका नकाबधारी लुटेराहरूले उनको ब्याग खोस्ने प्रयास गरे। सोही क्रममा उनीहरूले श्रवणको काँधमा गोली हानेर रकम लुटी फरार भएका हुन्।
गोलीको आवाज सुनेर स्थानीय मानिस घटनास्थलमा पुगे पनि लुटेराहरू भागिसकेका थिए। गोली लागेर घाइते भएका श्रवणलाई बैरगनिया सामुदायिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि सीतामढी सदर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै बैरगनिया थानाका प्रहरी निरीक्षक कुमोदकुमार सिंह र बलराम प्रसादको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij