विराटनगर : भारतबाट फर्किंदै गरेका एक व्यक्तिलाई स्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित मोरङको विराटनगरमा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो विराटनगर–१७ स्थित मटेरुवा नजिक चेकजाँचका क्रममा रकमसहित वीरेन्द्र साहलाई नियन्त्रणमा लिइएको हो । उनी विराटनगर–१८ का ४१ वर्षीय स्थानीय हुन् ।
सशस्त्र प्रहरी बलका सहायक निरीक्षक जागेन्द्र फुयाल र प्रहरी हवल्दार ताज्मुदिन मंसुरीको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रकम फेला पारेको हो ।
प्रहरीले साहको साथबाट बरामद गरेको रकममध्ये १ हजार दरका २८४ थान र ५ सय दरका २ हजार ३ सय ३२ थान गरी जम्मा १४ लाख ५० हजार रुपैयाँ बरामद भएको जनाएको छ ।
स्रोत नखुलेको ठूला परिमाणको नगद रकमसहित पक्राउ परेका साह र उनी सवार मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।प्रहरीले रकमको स्रोत खोजीका लागि थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij