काठमाडौं : सिराहामा बालकको अपहरणपछि हत्या गरिएको घटनामा आठ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बालकका आफन्त र छिमेकसहित आठ जना रहेका छन् ।आइतबार राति घर नजिकैबाट बेपत्ता भएका महतो मंगलबार बिहान आफ्नै घरदेखि करिब सय मिटर टाढा रहेको आँपको बगैचामा १७ वर्षीय अभिषेक महतो मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहका अनुसार अभिषेकको हातखुट्टा बाँधिएको अवस्थामा शरीरमा एसिड खन्याई हत्या गरिएको थियो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।
आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राति खाना खाएपछि घर नजिकैको चोकतर्फ हिँडेका थिए। तर उनी घर नफर्किएपछि परिवारले रातभर गाउँमा खोजतलास गरेका थिए ।सोमबार बिहान महतो परिवारको मोबाइलमा इमो मार्फत पाँच करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएपछि परिवारले तत्कालै प्रहरीलाई जानकारी दिएका थिए ।
बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।अनुसन्धानकै क्रममा रहेकोले प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ । घटना गम्भीर भएको भन्दै विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij