नेपालगन्ज : जेनजी आन्दोलनका क्रममा बाँके जिल्लाका दुई बाल सुधारगृह र एक क्षेत्रीय कारागारबाट भागेका ३४० जना बालबन्दी र कैदीमध्ये २८५ जना अझै सम्पर्कविहीन छन् । हालसम्म ५७ जना मात्रै पक्राउ परेका छन् । बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९३ जनामध्ये ४० जना पक्राउ परेका छन् भने नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ जनामध्ये १७ जना मात्र पक्राउ परेका छन् ।
जयन्दु बाल सुधारगृहमा रहेका २२८ मध्ये ११५ जना भागेका थिए । गृहका प्रमुख किशोर शर्माले २३ जना पक्राउ परेका र ९२ जनाको खोजी भइरहेको जानकारी दिनुभयो । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले यहाँ रहेका १७६ मध्ये पाँच जनाको मृत्यु भएको र ७८ जना भागेकामध्ये १७ जना पक्राउ परेको बताउनुभयो । त्यसै गरी नौबस्ता क्षेत्रीय कारागारका प्रमुख जालन्धर भुसालले फरार १४७ मध्ये १७ जना पक्राउ परेका र १३० जना अझै फरार रहेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अझै २८५ जना बालबन्दी तथा कैदी सम्पर्कविहीन छन् । तीमध्ये धेरै सीमापारि पुगेको आशङ्का गरिएको छ । नेपालगन्ज कारागारबाट भने सेनाको घेराबन्दीका कारण कैदी भाग्न नसकेको तर सो क्रममा एक कैदी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबिच गुलरिया समाचारदाता यज्ञप्रसाद सापकोटाका अनुसार बर्दियामा फरार सात जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा विभिन्न अपराधमा सजाय भोगिरहेका कैदी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नक्खु कारागारबाट फरार बारबर्दिया–९ का हरिराज उपाध्याय, दाङ तुलसीपुर कारागारबाट फरार कैलालीका कल्लु दमाईं, दार्चुला कारागारबाट फरार सुर्खेतका मानबहादुर विक, सुन्धारा कारागारबाट फरार बढैयाताल–७ का मनिराम दमाई, नक्खु कारागारबाट फरार गेरुवा–४ का दर्नबहादुर क्षेत्री, बाँके नौबस्ता कारागारबाट भागेका कोहलपुर–२ का ध्रुवसिंह ठकुरी र सुर्खेतका रोहन बस्याल रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij