नेपालगन्ज : कोहलपुरमा जेनजी प्रदर्शनको क्रममा राजस्व अनुसन्धान कार्यालयमा आगजनीपछि लुटिएको नगद र सुनचाँदी फिर्ता गरिएको छ । स्थानीय जनप्रतिनिधि, समाजसेवी र प्रहरीको सक्रियतामा दुई लाख ५२ हजार रुपैयाँ, ४२१ ग्राम सुन र करिब १० किलो चाँदी फिर्ता ल्याएर सुरक्षित राखिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी लक्ष्मी खनालका अनुसार नगद र धातुहरू राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको उपस्थितिमा मुचुल्का तयार गरी बुझाइएको हो । यसअघि पनि प्रहरीले सात लाख ६६ हजार रुपैयाँसहित तीन युवालाई पक्राउ गरेको थियो, जसले बैंकबाट पैसा निकालेर निस्किएका व्यक्तिलाई लुटेका थिए ।
यसअघि प्रहरीले आइतबार पनि कोहलपुर नगरपालिका २ सालको बुटा नजिकैबाट नगद सात लाख ६६ हजार रुपियाँसहित कोहलपुर ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्रलाई पक्राउ गरेको थियो ।
प्रहरीले स्कुटरमा सवार ती युवालाई पक्राउ गरेर रकमसहित सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूचना प्रकाशित भएपछि जिल्लाका अन्य कार्यालयबाट पनि लुटिएका सामान क्रमशः फिर्ता आउन थालेका छन् । फिर्ता नगर्नेहरूमाथि भने कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij