काठमाडौँ : जेनजी प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका १ सय ५३ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको छ । आन्दोलन भड्किएपछि उच्छृङ्खल व्यक्तिहरूले भदौ २४ मा ललितपुरको हरिसिद्धि प्रहरी चौकीबाट आक्रमण सुरु गरेका थिए । त्यसपछि काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न प्रहरी कार्यालयहरू आन्दोलनकारीको निशानामा परेका थिए ।
उपत्यकाको ३ वटा जिल्लाका १ सय ५३ प्रहरी युनिटहरू पूर्ण रूपमा क्षति भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘आंशिक क्षति धेरैमा भएको छ ।’
काठमाडौँका १२६ वटा प्रहरी कार्यालयहरूमा पूर्ण रूपमा क्षति भएको छ । डीएसपी इन्चार्ज हुने ११ वटा प्रहरी वृत्त, १० वटा प्रभाग, ३ वटा चौकी र ३६ वटा बिटमा क्षति पुगेको छ ।ललितपुरका दुई वटा वृत्त र सातवटा प्रभागमा पूर्ण रूपमा क्षति पुगेको छ । भक्तपुरका दुई वटा वृत्त, दुई वटा प्रभाग, एउटा चौकी र ३ वटा पोस्टमा पूर्ण क्षति भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय सहित १० वटा ट्राफिक युनिटहरू पूर्ण क्षति भएका छन् । आगजनी र तोडफोडसँगै प्रहरी युनिटहरूबाट उच्छृङ्खल समूहले प्रहरी पोसाक, हतियार र सञ्चार सेट लुटेर लगेका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले कमान्ड गर्ने रानीपोखरी स्थित उपत्यका प्रहरी कार्यालय पनि ध्वस्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय, सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतमा प्रहरीले प्रयोग गर्दै आएको भवन पूर्ण रूपमा क्षति भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij