Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

काभ्रेमा हराएका हतियार खोज्दै प्रहरी

काभ्रेमा हराएका हतियार खोज्दै प्रहरी

काभ्रेपलाञ्चोक : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ । शनिबारदेखि अभियानका रुपमा खोजी गरेको प्रहरीले केही हतियार, गोली बरामद गर्दै अपराधमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसबीचमा प्रहरीले ठूलो परिमाणमा गोलीसहित आठ जनालाई पक्राउ गरेको छ ।

यस्तै आन्दोलनका क्रममा कारागारबाट फरार भएका ३७ कैदीबन्दीलाई पक्राउ गरी आइतबार सम्बन्धित कारागार पठाएको जनाइएको छ । प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका बेला भएका लुटपाट, चोरी र तोडफोडमा संलग्नको पहिचानसहित पक्राउ कार्यलाई तीव्रता दिइएको बताए । मातहतका प्रहरी युनिटलाई आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई खोजी गर्न निर्देशन दिइएको छ ।

प्रहरीले बनेपा नगरपालिका–९ बाट ७३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर र १५ वर्षीय एक बालक रहेका छन् । यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनायो । यसैगरी प्रहरीले शनिबार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ लायकुस्थित डेरा गरी बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई उनकै डेराबाट एक कटुवा पेस्तोल तथा ३६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।

यसैगरी फरार भई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएका कैदीबन्दीमध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नक्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए । नियन्त्रणमा लिई धुलिखेलस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबर्जस्तीकरणीका नौ, लागूऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट