रौतहट : रौतहटको सदरमुकाम गौर कारागारबाट भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरिरहेका छन्। हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त अभियानमा ४७ जना कैदी पक्राउ परेका छन् भने सीमा सुरक्षा बल (एसएसबी) भारतले १७ जनालाई नियन्त्रणमा लिएर नेपाल पठाइसकेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिएका छन्।
गौर कारागारमा कैद सजाय भुक्तान गरिरहेका २९१ कैदीमध्ये २७ जना मात्र कारागारमै रहेकामा अहिले ९१ जना कैदी कारागारमा छन्। अझै पनि करिब २०० जना कैदी फरार रहेको सीडीयो खड्काले रातोपाटीलाई बताएका छन्।
उनले फरार कैदीलाई शीघ्र आत्मसमर्पण गर्न आग्रह गर्दै भने, “असहज परिस्थितिको मौका छोपी कारागारबाट भागेका कैदीबन्दी जहाँ भए पनि तुरुन्त उपस्थित भई राज्यलाई सहयोग गर्नुपर्छ। नत्र मुद्दा अनुसार थप कानुनी कारबाहीको दायरामा पर्नेछन्।”
सीडीयो खड्काले स्थानीय जनतालाई पनि सहयोगको आव्हान गरेका छन्। उनका अनुसार गाउँ–टोल, छिमेकमा लुकेर बसेका फरार कैदीबारे यथेष्ट जानकारी सुरक्षा निकायलाई दिएर सहयोग गर्नुपर्ने आवश्यकता रहेको छ।
हाल रौतहटको समग्र अवस्था सामान्यतर्फ उन्मुख भएको र सदरमुकामसहित चन्द्रपुर क्षेत्रमा शान्ति कायम गर्न सुरक्षाकर्मी सक्रिय रहेको सीडीयो खड्काले जिकिर गरेका छन् । निषेधाज्ञा अझै कायम रहेको हुँदा अत्यावश्यक कामबाहेक घरमै बस्न आग्रह गर्दै उनले भने, “शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्नु नागरिकको साझा दायित्व हो।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij