मकवानपुर : देशका विभिन्न कारागारबाट भागेका ४७ जना कैदीबन्दी र बाल सुधार गृहबाट भागेका २३ जना बालकलाई मकवानपुरबाट नियन्त्रणमा लिइएको छ। नेपाली सेना र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दिएको जानकारीअनुसार, भीमफेदी कारागारबाट भागेका २६० जनामध्ये ४३ जनालाई भैंसे, सुपारेटार ब्यारेक र राप्ती खोला किनारबाट पक्राउ गरिएको छ। यसैगरी, नख्खु कारागारबाट भागेका २ जना र तनहुँबाट भागेका २ जना कैदीबन्दीलाई हेटौँडाको विभिन्न चेकपोइन्टबाट नियन्त्रणमा लिइएको छ।
प्रहरीले बाल सुधार गृहबाट भागेका ७२ जनामध्ये २३ जना बालकलाई हेटौँडा-९ स्थित त्रिवेणी धामको नदी किनारबाट नियन्त्रणमा लिएको छ। अहिले पनि ४९ जना बालक फरार रहेका छन्।प्रवक्ता अर्यालले भागेका अन्य कैदीबन्दी र बालकको खोजी कार्य जारी रहेको जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij